प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीलाई भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्न सभामुख घिमिरेको सुझाव
काठकाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ३ वटा सुझाव दिनुभएको छ ।
शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र एमालेका अध्यक्ष ओलीबीच भेटघाट भएको हो । त्यसपछि सभामुख घिमिरेले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीलाई सोही सुझाव दिएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेका ३ वटा सुझाव यस्ता छन्:
'प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस् । म निर्वाध र सौहार्द्रपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्ने चाहन्छु । जति बल गरेर संसद चलाए पनि एक क्षणमा त सहमति गर्नुपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । आइतबार बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् ।'
१) नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्री दाहालले विश्वासको मत लिन, बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधकाबीच गर्दा राम्रो सन्देश जाँदैन ।
२) सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन ।
३) अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ ।
अहिले बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेससँग बसेर सहमति गर्नका लागि छलफल गरिरहनुभएको छ। गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र एमालेका अध्यक्ष ओली पनि सोही छलफलमा सहभागी भएका हुन् । त्यसपछि पुनः सत्ता पक्षका नेताहरूबीचको बैठक बस्ने जनाइएको छ ।