कश्मिरमा बन्धक बनाइएका ३६ जना नेपाली मजदुरको उद्धार, २ पक्राउ
काठमाडौं । भारतको कश्मिर पुर्याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको बुधबार उद्धार गरिएको छ ।
सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो । नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुराएर बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको छ ।
कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता, मोबाइल खोसेर ठेकेदारले पारिश्रमीक समेत नदिइ कुटपिट गरेको, डर र धम्की देखाएर काममा लगाएको पीडितहरुले गुनासो गरेका हुन् । मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको हो ।
उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर काम गर्न भन्दा गएको दिन नै कुटपिट गरी मोबाइल र नगद सबै खोसेर काममा लगाउने गरेको बताएका छन् । उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताएका हुन् । नालाको काम भनेर लगेकोमा छतको काम गर्न लगाएको उनको भनाइ छ । त्यस्तै, धनुषाका रञ्जित चौधरीले मोबाइल, नागरिकता र पैसाहरु सबै खोसेर राखेको बताए ।
काम लगाउनेले मार्नेसम्मको धम्की दिएको उनको भनाइ छ । काम भनेको नमाने आतंकवादी भनेर पक्राउ गर्न लगाउने धम्की दिने गरेको उनले बताए । करिब ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, जम्मुकश्मिर पुलि, क्राइम ब्रान्च र सिआरपिएफको सहयोगमा उनीहरुलाई उद्धार गरी दिल्ली पुर्याइएको हो ।
सोही घटनामा आवद्ध २ जना अभियुक्तलाई पनि पक्राउ गरिएको जनाइएको छ । उनीहरुलाई २ वटा कोठामा ताला लगाएर राखिएको थियो । नेपाली कामदारलाई एउटै कोठामा थुनेर राखिएको थियो । बसेकै कोठामा दिसापिसाव गर्नुपर्ने, २ पटक खान पनि नदिने र कश्मीर पुगेको दिनदेखि नै नुहाउन समेत नदिइएको उनीहरुको भनाइ छ ।
सोही समूहबाट भागेर नेपाल आएका पीडित युवकले नेपालमा कुनैपनि नेताले सहयोग नगरेको बताए । शुरुमा ४ जना नेपालीलाई लिएर गएको र पछि ७ जना भागेको पनि उनले बताएका छन् ।
ठेकेदारको बन्धकबाट भागेका ७ जनामध्ये एक जनाले आफूले भोगेका यातनाहरुको बारेमा आफ्नो आफन्तहरुको खबर गरेपछि सामाजिक अभियन्ता सरोज रायले उद्धारको लागि पहल शुरु गरेको बताए । सोही समूहमा ३ महिनाअघि ४३ जना नेपाली कामका लागि गएका थिए ।
उनीहरुलाई कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको छ । घटनामा संलग्न मुख्तकिम आलम र मो। साजादलाई पक्राउ गरिएको हो । जमाल मन्सुरी र मलिम मन्सुरी फरार रहेका छन् । उनीहरुविरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।