शेयर बजारले आज मनोवैज्ञानिक विन्दु पार गर्यो, नेप्से २८.६२ अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार मनोवैज्ञानिक भनिएको २ हजार विन्दु पार गरेको छ ।
यस हप्ता लगातार ३ दिनसम्म बढेको बजारले यस्तो रेखा पार गरेको हो । मंलबार एकै दिन नेप्से २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा कायम भएको छ । आइतबार ८.२६ अंकले, सोमबार २४.३९ अंकले र मंगलबार १.४३ प्रतिशतले नेप्से बढेको हो ।
मंगलबार ४ अर्ब ८ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २ सय ८५ कित्ता शेयर ५९ हजार ८ सय ५६ पटक किनबेच भएको छ । मंगलबार ३ सय २० कम्पनीको शेयर करोबार हुँदा २ सय १९ कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको शेयर मूल्य घटेको हो। ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
मंगलबार सेन्सेटिभ इन्डेक्स ३.६० अंकले, फ्लोट इन्डेक्स १.९० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले बढेको हो । मंगलबार १३ वटा उपसमूहमध्ये सबै समूहको शेयर बढेको छ ।
मंगलबार ७ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किक लागेको नेप्सेले जनाएको हो।