सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको हो । सरकारले प्रत्येक वर्ष वार्षिक बजेट प्रस्तुत गर्नुअघि संघीय संसदको दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आएको छ ।
मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने तय भएको हो । नीति तथा कार्यक्रममाथिको छलफल भने दुवै सदनमा छुट्टाछुट्टै हुने भएको छ । प्रतिनिधि सभामा जेठको ३,४,६,७,८ र ९ गते हुने भएको हो । राष्ट्रिय सभामा जेठ ३,४ र ६ गते हुने भएको छ । साथै साँझ साढे ५ बजे राष्ट्रिय सभा र ६ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको हो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा उपस्थित हुन संसद सचिवालयले उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठल गायत विशिष्ट अतिथिलाई निमन्त्रणा गरी सकेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुलाई सचिवालयले सार्वजनिक सूचनामार्फत आमन्त्रण गरिसकेको संसद सचिवालयले जनाएको हो ।