अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइते
काठमाडौं । अछामको रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको चट्याङ लागेर मृत्यु भएको छ ।
सोमबार राति हावाहुरीसँगै परेको चट्याङले उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको हो । त्यस्तै, डडेल्धुरामा चट्याङले एकै घरका ३ जना घाइते भएका हुन् । घर भने पूर्ण रूपमा नष्ट भएको छ ।
सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।