जन्मदाता आमालाई सम्मान गरी आमाको मुख हेर्ने पर्व आज देशैभरी मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी आमाको मुख हेर्ने पर्व आज (बुधबार) देशैभरी मनाइँदैछ।
आमालाई बुधबार मीठामीठा खानेकुरा खान दिएर श्रद्धा भक्तिका साथ सोही पर्वलाई मनाउने गरिएको हो । सोही दिनलाई मातातीर्थ औंंसी पनि भन्ने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान, आदर गर्ने र आमाबाट आर्शीवाद दिने दिनका रूपमा यस पर्वलाई लिइने शास्त्रीय परम्परा रहेको हो।
छोराछोरीले यस दिन बिहानै उठेर नुहाएर आफ्नी आमालाई मीठामीठा–तागतिला खानेकुरा खान दिई राम्राराम्रा लुगा लगायतका उपहार दिएर खुशी बनाएर आशीर्वाद लिने परम्परा रहेको छ । आमा नहुनेहरु आमालाई तर्पण र पीण्ड तथा पुरोहितलाई दानसहित भोजन गराई दिवंगत आमा र उहाँले गरेका महान एवं कष्टकर काम सम्झने गर्दछन्।
काठमाडैंको थानकोट नजिकै रहेको मातातीर्थमा बुधबार बिहानदेखि नै आमाको सम्झना गर्दै श्राद्ध र तर्पण गर्नेहरुको भीड लागेको हो । यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध र दान गर्न बुधबार थानकोटकोे मातातीर्थमा मेला समेत लागेको छ । सोही मेलामा जान भक्तजनेहरुको बुधबार बिहानैदेखि भीड लागेको हो ।
कतिपय भक्तजनहरु हिजो (मंगलबार) साँझ नै दीप प्रज्वलन गरी रातभरी जाग्राम बस्ने र बिहान सबेरै स्नान गरी पूजा गर्ने गर्दछन् ।