हप्ताको अन्तिम दिन आज शेयर बजारमा गिरावट
काठमाडौं । हप्ताको अन्तिम कारोबारका दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ ।
७.३१ अंकले घट्दै नेप्से १९९८ दशमलव ९६ विन्दुमा झरेको हो । १३ वटा उपसमूह मध्ये ११ उपसमूह घट्दा लघुवित्त र व्यापार उपसमूह भने अंकले बढेका छन् । लघुवित्त उपसमूह ३ दशमलव ४५ प्रतिशतले बढ्दा ब्यापार उपसमूह नगन्य अंकले बढेको हो । पछिल्ला २ दिनमा उच्च अंकले बढेको विकास बैंक उपसमूह बिहीबार सर्वाचिक २ दशमलव ०३ प्रतिशतले घटेको छ ।
नेप्से घटे पनि लघुवित्तका लगानीकर्ताहरुले भने बिहीबार कमाएका छन् । शेयर मूल्य बढेका १० शीर्ष कम्पनीहरुमा ९ वटा लघुवित्त रहेका हुन् । त्यस मध्ये समता लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
पिपुल्स पावर जलविद्युतको शेयर मूल्य भने सर्वाधिक ८ दशमलव २१ प्रतिशतले घटेको हो । बिहीबार ३ सय ८ स्टकको ९४ लाख ९८ हजार कित्ता शेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।
कारोबार रकमका आधारमा बिहीबार आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक २८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो । यो इन्स्योरेन्सले २५ प्रतिशत बोनस शेयर र ९ दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल ३४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको नेप्सेले जनाएको छ ।