देशका ४ प्रदेशमा आज पनि मेघगर्जन/चट्यांगसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु-पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली हुने भएको छ। कोशी, बागमती, गण्डकी, मधेश प्रदेश र बाँकी पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो । त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
मंगलबार राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांंगसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।