बाँकेको बालापुरमा भीषण आगलागी हुँदा २५ लाखको क्षति
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ स्थित बालापुरमा बुधबार भीषण आगलागी भएको छ ।
बालापुरका स्थानीय चुनलाल थारू, कमला गिरी र तुलसा गिरीको २ गोठ र २ घरसहित ४ वटा संरचनामा आगलागी हुँदा क्षति भएको राप्तीसोनारी–८ का वडाध्यक्ष शालिकराम डाँगीले जानकारी दिनुभएको हो । उहाँका अनुसार थारुको घरमा रहेको अन्नपात र लत्ता-कपडा लगायतका गरगहना समेत जलेर नष्ट भएको छ ।
स्थानीय गिरी परिवारको एक गोठमा लागेको आगलागीमा परेर भेडा-बाख्रा र भैंसी जलेर मरेको वडाध्यक्ष गिरीले बताउनुभयो । सोही घटनाको सबै विस्तृत विवरण नआएको र क्षतिको विवरण संकलन भइरहेको उहाँको भनाइ छ । करिब २ घण्टा लगाएर अग्नि नियन्त्रक उपकरणका साथै दमकलसहित गएको टोलीले ३ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको हो ।
विद्युतीय अनियमितता कारण एक्कासि सल्किएको आगो केहीबेरमै नियन्त्रण बाहिर जाँदा त्यहाँ रहेका लत्ताकपडा, गरगहना र घर पालुवा जनावरलगायत अन्न जलेर नष्ट भएको हो । आगलागीका कारण करिब २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
यसबाहेक राप्तीसोनारी-२ का जंगलमा पनि डढेलो लागको हो । दिउँसोको समयमा चल्ने तातो हावाले डढेलोलाई फैलाउन सहयोग गरेको शमशेरगन्ज सव डिभिजन कार्यालय बाँकेले जनाएको छ ।