देशका अधिकांश भू-भागमा मेघगर्जन/चट्यांगसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु-स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको हो । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्यांग हावा-हुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो भने कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बदली हुने भएको छ।
कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्यांग हावा-हुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको हो। त्यस्तै, देशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
शुक्रबार राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली हुने भएको छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/ चट्यांग हावा-हुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।