तनहुँमा चालु आर्थिक वर्षमा साढे ६ सय उद्योग दर्ता
काठमाडौं । तनहुँमा चालु आर्थिक वर्षमा ६ सय ४७ उद्योग दर्ता भएका छन् ।
पर्यटन तथा उद्योग कार्यालयमा गत वर्षको साउन महिनादेखि चैत मसान्तसम्म सोही उद्योग दर्ता भएका हुन् । कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ ३ सय ३६ र वाणिज्यतर्फ ३ सय ११ उद्योग दर्ता भएका छन् ।
एउटा घरबास (होमस्टे) पनि दर्ता भएको हो । गत आवमा जिल्लामा ६ सय ३ वटा उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् ।
आर्थिक वर्षमा जिल्लामा २ सय ७८ उद्योग खारेज भएका हुन् । आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि सोही उद्योगको दर्ता खारेज गरिएको छ ।
कार्यालयमा गत आर्थिक वर्षमा २ सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उद्योग खारेजका लागि धेरै आवेदन परेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्षमा कार्यालयले रु ४० लाख ४९ हजार १ सय २५ राजस्व संकलन गरेको हो । वाणिज्यतर्फ १९ लाख ८५ हजार १ सय ७५ र उद्योगतर्फ २० लाख ६३ हजार ९ सय ५० राजस्व संकलन भएको छ ।
उद्योगतर्फका ८ सय ४० र वाणिज्यतर्फ ७ सय ४१ गरी १ हजार ५ सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेको उद्योग कार्यालयले जनाएको हो ।