सरकारको नीति तथा कार्यक्रम परम्परागत छ: प्रमुख सचेतक लेखक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गर्नुभएको छ ।
प्रमुख सचेतक लेखकले सोही कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सहकारी लगायतका मुद्दालाई समेत सम्बोधन गर्न नसकेकाले कुनै नयाँ उत्साह भर्न नसकेको दावी गर्नुभएको हो । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भए लगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कुनै नयाँ कुरा, कुनै नयाँ उत्साह भर्न नसकेको बताउनुभयो ।
सहकारी ठगीलाई कारबाही गर्ने, देशको संकुचनमा रहेको आर्थिक अवस्थालाई उकास्ने तथा रुसी सेनामा रहेका नेपालीहरुलाई फिर्ता गर्ने लगायतका विषयमा पनि नीति तथा कार्यक्रममा केही उल्लेख नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममा उत्साह भर्ने खालको कुनै पनि कार्यक्रम नभएको प्रमुख सचेतक लेखकले बताउनुभयो ।