बागमतीसहित देशका ४ प्रदेशमा आज पनि मेघगर्जन/चट्यांगसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु-पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।
सोमबार बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ। साथै गण्डकी प्रदेश, कोशी र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
सोमबार दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने भएको छ। त्यस्तै, देशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो। देशको उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।
सोमबार राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।