दाङको राजपुरमा आगलागी हुँदा ३४ वटा घर-गोठ जलेर नष्ट
काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आइतबार आगलागी हुँदा २४ वटा घर जलेर नष्ट भएका छन् ।
आगलागी कारण अन्य १० वटा गोठ समेत जलेर नष्ट भएको सोही गाउँपालिका-७ का वडाध्यक्ष पुष्कर ओलीले बताउनुभएको हो। सोही गाउँमा २५ वटा घर थिए । जसमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आइतबार दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको थियो । आगलागी भएका सबै घर खरले छाइएका थिए। जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन् ।
नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम ओलीले बताउनुभएको छ । यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो ।
हावा-हुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् ।