नाउपाकी टीका थापाले लिइन् कृषि मन्त्रीको शपथ
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मंगलबार मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री सोडारीले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मन्त्रीमा नियुक्त भएलगत्तै थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाँले मन्त्री थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले यसअघि नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए । एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ वैशाखमा विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ ।