पछिल्लो समय वायु प्रदूषणका कारण बालबालिका र महिलाको स्वास्थ्यमा जोखिम बढ्दै
काठमाडौं । पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका र महिलामा विभिन्न स्वास्थ्य सम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ ।
सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनका अनुसार वायु प्रदूषणका कारण दम, फोक्सो, श्वासप्रश्वास, खोकी र छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेको हो । जसले बालबालिकाको वृत्तिविकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत खस्किने गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सेभ द चिल्ड्रेनका सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरू मध्ये काठमाडौंर सप्तरीमा सोही अध्ययन गरिएको बताउनुभयो । अध्ययनले वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नु भन्दा पनि बालबालिकाको समग्रहित र विकासलाई विश्लेषण गरेर बुझ्नुपर्ने आवश्यकता औंल्याएको पनि उहाँले बताउनुभएको छ।
उहाँले भन्नुभयो,-'वायु प्रदूषणका कारण विद्यालय बन्द हुँदा र बाहिर हिंड्डुल गर्न कठिनाइ हुँदा शिक्षाको अवसर गुम्नसक्ने र परिवारको जीविकोपार्जनमा समेत असर पर्नसक्ने चिन्ता व्यक्त गरेको पायौं । साथै प्रदूषणले बालबालिका, महिला तथा न्यूनप्रतिनिधित्व भएका समूहको जीवनलाई नै गम्भीर असर गर्ने देखिन्छ ।'
विद्यमान विकास अवधारणाले वायु प्रदूषणका हानिकारक प्रभावको बारेमा ख्याल नगर्ने पाइएकाले विकासमा महिला, बालबालिका र न्यूनप्रतिनिधित्व भएका समूहका जीवनका भोगाइलाई समेत ध्यान दिन जरूरी रहेको उहाँको भनाइ थियो । सोही प्रतिवेदनले बालबालिकाका समग्रहितको लागि मजबुत नीतिगत व्यवस्थाको आवश्यकता औंल्याएको छ ।
त्यस्ता नीतिको बारेमा जनस्तरमा सचेतना फैलाउन र पर्यावरणीय समस्याहरुको सम्बोधन गर्नुपर्नेमा प्रतिवेदनले जोडदिएको हो ।