धनुषामा आर्थिक मन्दीका कारण १७३ वटा साना उद्योग-व्यवसाय बन्द
काठमाडौं । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा १ सय ७३ वटा उद्योग र व्यवसाय बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग र व्यवसाय बन्द भएका हुन् । सोही उद्योगमा कार्यरत करिब २ हजार मजदुर बेरोजगार भएका छन्। उद्योग बन्द हुँदा करोडौं रुपैयाँ घाटा भएको हो। कार्यालयबाट प्राप्त विवरण अनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ १ सय १३ उद्योग र व्यवसाय बन्द भएको छ । बन्द भएका सोही उद्योगहरुको बन्द हुनु अघि उत्पादित सामग्री समेत बिक्री भएको छैन ।
कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म ६ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका हुन् । १ हजार ६ सय २ उद्योग नवीकरण भएका हुन् । यसैगरी, वाणिज्यतर्फ ७ सय ३४ वटा व्यावसायिक फर्म नवीकरण र ८ सय ३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् । उद्योग दर्ता तथा नवीकरण गरे बापत कार्यालयले २४ लाख ११ हजार ५ सय ३० राजस्व संकलन गरेको हो । वाणिज्यतर्फ दर्ता र नवीकरणबापत ५० लाख ३ हजार ७ सय ७० गरी कुल ७४ लाख १५ हजार ३ सय राजस्व संकलन गरेको छ ।
कोरोना महामारीको विश्वव्यापी असर, बैंकको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरू बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवले बताउनुभयो । व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरु खाली गरी व्यापारी पलायन हुन थालेका छन् । गत आव २०७९/०८० मा दर्ता भएका उद्योगहरुमध्ये साना उद्योग ५ सय ३६, लघु उद्योग ५ सय ९१ तथा घरेलु उद्योग १ गरी १ हजार १ सय २८ वटा उद्योग दर्ता भई सञ्चालनमा थिए ।
उद्योगहरूकोस्थिर तथा चालु पूँजी ३ अर्ब ५५ करोड ८२ लाख ११ हजार ९ सय ९९ रहेको जनाइएको छ । बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरू सञ्चालन गर्न सकेको छैन ।