नेपाल र कतारबीच आज विभिन्न ८ विषयमा समझदारी पत्रमा हस्ताक्षर
काठमडौं । नेपाल र कतारबीच बुधबार विभिन्न ८ वटा विषयमा समझदारी भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच बुधबार होटल सोल्टीमा भएको भेटवार्तापछि सोही समझदारीमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री दाहाल र अमिर शेखबीच वान टु वान भेटवार्ता भएपछि २ देशका प्रतिनिधिमण्डलकोबीचमा वार्ता भएको छ ।
२ देशका प्रमुखबीचको वार्तापछि विभिन्न ८ वटा विषयमा समझदारीमा आदानप्रदान गरिएको हो । सोही वार्ताका क्रममा २ देशका सरकारका मन्त्रालयहरूबीच ६ वटा र निजीक्षेत्रबीच पनि २ वटा विषयमा सम्झौतापछि हस्ताक्षर भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग सरकारीस्तरमा ६ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदानप्रदान सम्बन्धी हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ ।
२ देशबीच शिक्षा र संस्कृति आदानप्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर भएको हो । निजी क्षेत्रतर्फ कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि २ वटा सम्झौता हस्ताक्षर गरिएको छ ।
भेटका क्रममा द्विपक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको हो ।प्रधानमन्त्री दाहालले राजा अमिर शेखका लागि बुधबार होटल द्वारिकामा दिवा भोजको समेत आयोजना गर्नुभएको छ ।
कतारका राजा अमिर शेख बुधबार नै स्वदेश फर्किने कार्यक्रम तय भएको हो । उहाँ मंगलबार दिउँसो २ दिने राजकीय भ्रमणका लागि नेपालमा आउनुभएको थियो ।