इलाम-२ मा आज बिहान सर्वदलीय बैठक बसेपछि उपनिर्वाचनको मतगणना शुरू हुने
काठमाडौं । इलाम -२ को प्रतिनिधिसभा सदस्यको शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना आइतबार बिहानदेखि शुरु हुने भएको छ ।
यसअघि शनिबार राति ११ बजेबाट नै मतगणना गर्ने भनिए पनि मतदान स्थलबाट मतपेटिका गणनास्थलमा लैजान ढिलाइ भएपछि आइतबार बिहानदेखि शुरु गर्न लागिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको हो । उहाँका अनुसार आइतबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणनाको काम शुरु हुने भएको छ ।
मतगणना इलाम नगरपालिकास्थित सिटी हलको (गौतम बुद्ध सभागृह) मा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।मतगणनाका लागि शनिबार नै सभागृहको हलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ। सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिर नै बस्ने गरी गणनास्थल तयार गरिएको हो ।
इलाममा शनिबार सम्पन्न भएको निर्वाचनमा १ लाख १५ हजार ८ सय ८९ मतदाता मध्ये ६९ हजार २ सय ८७ जनाले मतदान गरेका छन् । यो समग्रमा ६० प्रतिशत हो । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम–२ मा शनिबार उपनिर्वाचन भएको छ ।