उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा आज कांग्रेसका सभापति देउवाले दिए सबैलाई धन्यवाद
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै उहाँले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । साथै मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एक पटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको पनि उहाँले उल्लेख गर्नु भएको छ ।
शनिबार भएको उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको पनि सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको हो ।