गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते
काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी १२ जना घाइते भएका हुन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको जीप शनिबार राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा सत्यवती–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नम्बर ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा र ५३ वर्षीय पदमबहादुर बुढाथोकी घाइते भएका छन् । त्यस्तै, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शंकर बिक घाइते भएको प्रहरीले बताएको हो ।
घाइते ४ जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।