कक्षा १२ को परीक्षा देशैभरी एकै साथ आज (शुक्रबार) देखि शुरु हुँदैछ।
काठमाडौं । कक्षा १२ को परीक्षा देशैभरी एकै साथ आज (शुक्रबार) देखि शुरु हुँदैछ।
सोही परीक्षा शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । परीक्षा वैशाख २६ गते सम्पन्न हुने भएको छ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो।
उहाँले सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन समेत आग्रह गर्नुभएको छ । यस वर्ष परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ जना छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी कुल ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थीहरु सहभागी हुने भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, ग्रेड वृद्धितर्फ १ लाख ६ सय ५० जना विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका ५ हजार ५ सय ४२ वटा विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने भएका हुन् । परीक्षाका लागि बोर्डले देशभर १ हजार ५ सय २५ परीक्षा र देशबाहिर जापानमा १ गरेर कुल १ हजार ५ सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो।
सबै भन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङ-मुस्ताङमा १-१ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौं उपत्यको परीक्षा केन्द्र निर्धारण गरेको हो । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति र १८ हजार ३ सय प्रहरी परिचालन हुने भएका छन्।
यस वर्ष प्रश्नपत्र अनलाइनबाट पठाइएको हो । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरिएको बोर्डले जनाएको छ।