बाजुरामा आज हावा-हुरीका कारण ४० वटा घरमा क्षति
काठमाडौं । बाजुरामा शनिबार दिउँसो आएको हावाहुरीका कारण ठूलो क्षति भएको छ ।
गौमुल गाउँपालिका–६ सालिकोटका बाढी-पहिरो र भूकम्प प्रभावितले निर्माण गरेका घरको जस्तापाता शनिबार दिउँसो साढे १ बजे आसपासमा आएको हावाहुरीले उडाउँदा ठूलो क्षति पुगेको वडा नम्बर ६ का सदस्य कलक चदाराले जानकारी दिनुभएको हो।
संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण गरिएका घरका जस्तापाता हावाहुरीले उडाएपछि बस्नयोग्न नभएको वडा सदस्य चदाराले बताउनुभएको छ । बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएपछि थप समस्या भएको उहाँले बताउनुभएको हो ।
घर निर्माण भएको १ महिना बित्न नपाउँदै हावाहुरीले घरको जस्तापाता उडाएर ५ सय मिटर तल लिएपछि घरभित्र बस्नलाई समस्या भएको पीडित तिलक बिकले जानकारी दिनुभयो । आधा घण्टा बढी समय चलेको हावाहुरीले सालीकोटका स्थानीयका घरका टिन नै उडाएको उहाँको भनाइ छ ।