विनाअनुमति उपल्लो मुस्ताङ पुगेका ६ भारतीय प्रहरी नियन्त्रणमा
अनुमति नलिइ उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई अनुमति लिन पोखरा पठाइएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोज पाण्डेले जानकारी दिए ।
‘उहाँहरुसँग अनुमति पत्र रहेनछ । सशस्त्रले नियन्त्रणमा लिएर हाम्रो जिम्मा लगायो, हामीले पोखरा फर्काइदियौं,’ उनले भने । अध्यागमनबाट भ्रमण अनुमति लिएर मात्रै त्यहाँ जान पाइन्छ ।
उनीहरुलाई नेचुङ स्थित वीओपीमा प्रहरीले नियन्त्रणमा लिएको हो । लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य देशका नागरिक जान पाउँदैनन् । थप प्रक्रियाका लागि काठमाडौँ पठाउने तयारी भैरहेको बताइएको छ ।
उनीहरु पहिले नेपालकै नागरिक हुन् । अहिले पूर्ण रुपमा भारतीय नागरिकता लिएका कारण नेपाली मुलका भएपनि फर्काइएको हो । भारत पश्चिम बंगाल स्थायी घर भएका शिवकुमार गुरुङ, व्रिशेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङलाई नियन्त्रणमा लिइएको हो ।