दिल्लीमा उच्च वायु प्रदूषणका कारण प्राथमिक विद्यालय बन्द
भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण बढ्दै गएपछि प्राथमिक विद्यालयहरु बन्द गरिएको छ ।
द क्विन्टको हिन्दी संस्करणका अनुसार प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि १० नोभेम्बर सम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको छ । कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने भएको छ ।
वायु प्रदूषणबाट बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास सम्बन्धी समस्याका दीर्घ रोगीहरु बढी प्रभावित भएका छन् । धेरै मानिसहरूले आँखा पोल्ने, चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् ।
दिल्लीमा सामान्यतया नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनाहरुमा वायु प्रदूषण उच्च हुने गरेको छ । नजिकैका राज्यहरू, विशेष गरी उत्तर प्रदेश, हरियाणा, पञ्जाब लगायत स्थानका किसानहरूले पराल जलाउनु र सवारी साधनबाट निस्किने विशाक्त धुँवालाई वायु प्रदूषणको प्रायः प्रमुख कारणको रूपमा लिने गरिएको छ ।