इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न चारजना सार्वजनिक
इन्द्रजात्रा हेर्न न्युरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो।
घटनामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरी परिसरले ४ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ घर भई हाल ललिपुरको लुकुसी बस्ने २० वर्षीया सोनिया श्रेष्ठ, ललितपुर महानगरपालिका-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-२४ कि १९ वर्षीया भूमी मल्ल र ललितपुरको गोदावरी नगरपालिका-५ घर भई हाल नागबहाल बस्ने १९ वर्षीय अरबिन ठकुरी छन्।
परिसरका अनुसार किशोरमाथि धारिलो हतियार प्रहार गरी भाग्न लागेको अवस्थामा सन्देश खड्की र सोनिया श्रेष्ठलाई सोही राति काठमाडौं महानगरपालिका-२४ मखनबाट पक्राउ गरेको हो।
भूमी मल्ललाई क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट पक्राउ गरिएको परिसरले जानकारी दिएको छ। प्रहरीले ठकुरीको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार (चक्कु) समेत बरामद गरेको छ।
परिसरका अनुसार काठमाडौं जिल्ला अदालतबाट सन्देश खड्की र सोनिया श्रेष्ठ खड्कीविरूद्ध असोज १५ गतेदेखि लागु हुनेगरी ६ दिन र भूमी मल्ल र अरबिन ठकुरीविरूद्ध १६ गतेदेखि लागु हुनेगरी ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।