सिन्धुलीमा जिप दुर्घटना, एक जनाको मृत्यु र चार घाइते
सिन्धुलीको दुधौली नगरपालिका–३ झुंगामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
आइतबार काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२८ च २७८३ नम्बरको इसुजु जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ निवासी ४२ वर्षीय मातृका भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठका अनुसार अनियन्त्रित भएको जिप मदन भण्डारी राजमार्गबाट करिब १० मिटर तल खसेको थियो ।
दुर्घटनामा बराहक्षेत्र–८ निवासी ३८ वर्षीया प्रमिला भट्टराई, उनका ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका १३ वर्षीय छोरा आतर्व भट्टराई घाइते भएका छन् ।
घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।