झापामा १८ ग्रामभन्दा बढी खैरो हेरोइन र १३ लाख नगदसहित महिला पक्राउ
झापाको बिर्तामोडबाट लागूऔषध खैरो हेरोइन र १३ लाख रुपैयाँभन्दा बढी नगदसहित एक महिला पक्राउ परेकी छन्। लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिर्तामोड नगरपालिका–५ बाट उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ निवासी ३६ वर्षीया पार्वती राजवंशी रहेकी छन्। प्रहरीका अनुसार शनिबार राजवंशीको साथबाट १८.४८० ग्राम खैरो हेरोइन, लागूऔषध तौल गर्न प्रयोग हुने एक थान तराजु र नगद १३ लाख ३९ हजार रुपैयाँ बरामद गरिएको छ।
बरामद लागूऔषध, नगद तथा अन्य सामग्रीसहित पक्राउ परेकी राजवंशीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी, झापामा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।