छैन दसैँ–तिहारको रौनक : उपभोग्य बजारको मनोबल घट्दा आयात न्यून
आर्थिक मन्दीको प्रभाव यस वर्षको दसैँ–तिहारको उपभोग्य बजारमा नराम्रैसँग पर्ने देखिएको छ । दसैँ–तिहारको मुखमै उपभोग्य बजारमा माग र सप्लाई (वितरण) नहुँदा बजार प्रायः सुनसानकै अवस्थामा पुगेको हो ।
आर्थिक मन्दीको प्रभावस्वरुप उपभोग्य बजारको शिथिलता हालसम्म कायमै छ । उपभोक्ताको हातमा भरसक पैसा नहुने र भएकाले पनि ‘के हो, को हो’ भन्दै खर्च गर्नभन्दा बचत गर्नतर्फ लाग्दा बजारको कारोबार प्रायः शून्यको अवस्थामा झरेको राजधानीको व्यावसायिक हब न्यूरोड, असनका व्यवसायी बताउँछन् ।
यो वर्ष दसैँ–तिहारकै लागि भनेर भित्रिने लत्ताकपडा, रेडिमेट गार्मेन्ट सामग्री, टिभी, मोबाइल, घडी, फ्रिज लगायतका घरायसी प्रयोगका विद्युतीय सामग्रीहरूको आयात घट्न पुगेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको तुलनामा यो वर्ष दसैँअघि साउन र भदौमा ५ प्रतिशतभन्दा बढीले आयात घटेको छ ।
भन्सार विभागका अनुसार यो वर्ष भदौ मसान्तसम्ममा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको विदेशी तयारी तथा केही कच्चा मालवस्तु आयात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
जबकि दसैँ–तिहारकै लागि भनेर बढी मालवस्तु आयात हुने यसै समयमा आयात घट्नुले बजारमा आर्थिक मन्दीको प्रभाव अझै कायम रहेको प्रस्ट हुने व्यवसायीको भनाइ छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्षसमेत रहेका व्यवसायी नरेश कटुवाल आर्थिक शिथिलताका बिच मुख्य चाडवाडकै समयमा बजारमा सन्नाटा छाएको बताउँछन् ।
‘उपभोग्य बजारको स्थिति भयावहकै अवस्था छ । अत्यावश्यक बाहेक अतिरिक्त कुनै पनि सामान वस्तुको खरिद बिक्री छैन । मुख्यतः उपभोक्ताहरूको हातमा पैसा छैन, पैसा भए पनि आर्थिक मन्दीको भयले खर्च गर्न चाहिरहेका छैनन् । यस कारण बजारको व्यापार प्रायः ठप्पको स्थितिमा छ,’ उनले भने ।
दसैँ–तिहारको उत्साह यतिबेला बजारको भिड थामी नसक्नु हुनुपर्ने बेला व्यवसायीहरू तनावमा बस्नु परेको उनको भनाइ छ ।
‘सन् २०१९ र २०२० कोभिड–१९ का कारण बजार पूर्ण रूपमा प्रभावित भयो । २०२१ र २०२२ पनि यस्तैयस्तै भयो । सोचेअनुरूप व्यापार हुन सकेन । यसपालि भने राम्रै व्यापार हुने अपेक्षा थियो, आर्थिक मन्दीका कारण सबै ध्वस्त भयो’ उनले भने, ‘मुख्य चाडबाड दसैँ–तिहारमा पनि व्यवसाय हुँदैन भन्ने लक्षण त तिजको व्यापारले नै देखाइसक्यो ।’
उसो त व्यवसाय बजारमा कारोबार सोचेअनुरूप नहुने भएपछि होलसेल आयातकर्ता व्यवसायीहरूले दसैँ–तिहारका लागि मालवस्तु समेत आयात गर्न छाडेका छन् ।