भारी बोक्दाबोक्दै अन्तर्राष्ट्रिय खेलाडी बनेका अर्जुन
सन् २०१३ को एभरेष्ट म्याराथनमा पहिलो पटक सहभागी अर्जुन कुलुङ राई छैटौं स्थानमा रहे । भारी बोकेर जीविकोपार्जन गर्दै आएका र कुनै प्रशिक्षण नलिएका अर्जुन अरुले दौडेको देखेर मात्र दौडिएका थिए ।
त्यही दौडले उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्यायो । गत महिना अष्ट्रियामा भएको वर्ल्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप (डब्लुएमटीआरसी) मार्फत पहिलो पटक अन्तर्राष्ट्रिय ट्रेल दौडमा सहभागी अर्जुन ५०औं स्थानमा रहे ।
अष्ट्रियाको इन्सवर्गमा जुन ६ देखि १० सम्म आयोजना भएको डब्लुएमटीआरसीमा नेपालबाट अर्जुन र सुनमाया बुढा सहभागी थिए । सुनमायाले चोटका कारण दौड पूरा गर्न सकिनन् । अर्जुनले भने दौडका क्रममा मांशपेशीमा समस्या आए पनि पूरा गरेरै छाडे । पहिलो पटक दौडिँदा नै ५० भित्र पर्न सक्नु अर्जुनको उपलब्धि हो ।
झण्डै एक दशकको अवधिमा अर्जुनले नेपालमै तीस भन्दा बढी प्रतियोगितामा दौडिसकेका छन् । अल्ट्रा दौडबाटै उनी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुगिसकेका छन् ।