कास्कीका ७२ वटै वडामा भावनात्मक एकता बनाउने सत्ता गठबन्धनको निर्णय
सत्ता गठबन्धनमा आवद्ध ५ दलका नेताहरूले कास्कीका ७२ वटै वडामा संयुक्त कार्यक्रम आयोजना गर्ने भएका छन्। नेपाली कांग्रेस कास्कीले बिहीबार पोखरामा चियापान तथा भेटघाट कार्यक्रममा सहभागी गठबन्धनका नेताहरूले उक्त निर्णय गरेका हुन्।गठबन्धनमा आवद्ध नेताहरूले एक अर्कालाई चिनजान र घुममिल नभएको भन्दै वडा तहसम्मै संयुक्त चियापान तथा भेटघाट कार्यक्रममार्फत भावनात्मक एकता गर्ने निर्णय गरेका हुन्। कार्यक्रममा बोल्दै कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गठबन्धनको भावना वडा तहका कार्यकर्तासम्म पुर्याउन आवश्यक रहेको बताए।
‘चुनावमा गठबन्धन गर्ने निर्णय भइसकेको छ, यहाँ नेता कार्यकर्तामा चिनजानसमेत छैन,’ उनले भने, ‘अब भेटघाट र चियापानमार्फत् वडा तहसम्म भावानात्मक एकता हुनुपनर्छ।’
गठबन्धनमा एकता कायम गर्ने निर्णय गरेका कास्कीका नेताहरूले सिट बाँडफाँटका विषयमा भने बोलेनन्। चियापान तथा भेटघाटमा सहभागी ५ दलका नेता कार्यकर्ताले एक आपसमा परिचय आदान-प्रदान गरेका थिए।कार्यक्रममा कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाट, गण्डकी प्रदेशका मन्त्रीहरू कुमार खड्का, रामजी बराल, विन्दुकुमार थापा, माओवादी केन्द्रीय सदस्य राजकाजी गुरूङ ‘करण’, दीपक कोइराला, नेकपा (एकीकृत समाजवादी) कास्कीका अध्यक्ष एवं पोखराका मेयर धनराज आचार्य लगायतका नेता एवं कार्यकर्ता सहभागी थिए।
कार्यक्रममा उपस्थित नेताहरूले स्थानीय निर्वाचनमा जस्तो गठबन्धनभित्र आपसी विवाद हुन नहुनेमा जोड दिएको कांग्रेस सचिव भानु ढकालले बताए।
‘आन्तरिक एकतामा सबैले जोड दिनुभएको छ, विवाद नहोस् भन्नुभएको छ,’ उनले भने, ‘गठबन्धन एक ढिक्का हुन सकेमा शतप्रतिशत परिणाम आउने विश्वास छ।’