बाजुराका दलित बस्ती : जता साहु उतै भोट
एउटा राजनीतिक दलमा आएको विभाजनको असर जनताको तहसम्म कसरी पर्छ भन्ने उदाहरण बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका–३ जुकोटका दलित बस्तीमा हेरे पुग्छ । यहाँको दलित समुदाय अहिले नेकपा एमाले फुटको चपेटामा छ ।
नेकपा एमाले फुट्नु भन्दा पहिला जुकोट गाउँका कथित माथिल्लो जातका अधिकांश व्यक्तिहरु एमाले थिए । उनीहरुको खेतबारी कमाउने र उनीहरुकै छत्रछायाँमा त्यहाँ बसोबास गर्ने दलित समुदाय पनि माथिल्लो जातिको आफ्ना मालिकहरुको निर्देशनमा भोट हाल्थे । आफूखुशी भोट हाल्ने स्वतन्त्रता नभएपनि उनीहरु माथि एमाले भन्दा अर्को पार्टीको हस्तक्षेप थिएन् ।तर, जब एमाले फुट्यो, सिंगो जुकोट गाउँ नेकपा एमाले र नेकपा एकीकृत समाजवादी गरेर दुई चिरामा बाँडियो । गाउँपालिका अध्यक्ष उम्मेदवारमा एमालेबाट चतुर्भुज शाही, एकीकृत समाजवादीबाट चिरञ्जीवी शाही उम्मेदवार भए । चिरञ्जीवीलाई माओवादीको समेत साथ छ । उनले २०७४ सालको स्थानीय चुनावमा कांग्रेसलाई हराउदै गाउँपालिका अध्यक्ष जितेका थिए । जुकोटमा कांग्रेस र माओवादी पनि छन्, तर उल्लेखनीय मात्रामा समाजवादी र एमाले छन् ।