मेयरमा निर्वाचित भएपछि केजरीवाललाई भेट्न जान्छु : विजय सुवेदी
भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीले आफू निर्वाचित भए सबैभन्दा पहिले भारत भ्रमणमा जाने र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भेट्ने बताएका छन् ।
आइतबार भरतपुरमा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जाने बताए ।
‘म नगर प्रमुखमा निर्वाचित भएपछि सबैभन्दा पहिले भारत भ्रमणमा जान्छु । त्यहाँ गएर केजरीवाल भेट्न चाहन्छुु, नितिन गड्करीलाई भेट्न चाहन्छु’ उनले भने, ‘उहाँहरुले गरेको राम्रो काम सिक्छु, र उहाँलाई पनि ल्याउँछु ।’
उनले आफू चीन र अरु देशको पनि भ्रमणमा जाने र सबै देशको स्रोत साधन ल्याएर भरतपुर महानगरपालिकाको विकासमा लगाउने बताए ।