गुल्मी : गोकर्ण र प्रदीपलाई धक्का, रामकुमारीको गृह पालिकामा विजयी गठबन्धन
स्थानीय तह निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गर्दा गुल्मीमा नेकपा एमालेलाई धक्का लागेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो दल भएको एमाले यसपटक तेस्रो स्थानमा झरेको छ ।जिल्लाका १२ पालिकामध्ये एमालेले दुई वटा गाउँपालिका र एउटा नगरपालिकामा नेतृत्व पाएको छ । नेपाली काँग्रेसले एउटा नगरपालिका र चार गाउँपालिकाको नेतृत्व पाएको छ भने नेकपा माओवादी केन्द्रले चार गाउँपालिकाको नेतृत्व पाएको छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको गृह पालिका रुरुक्षेत्र गाउँपालिका यसपटक एमालेले गुमाएको छ । सो गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका यदु ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ५ हजार ८१७ मत ल्याएर नेकपा एमालेका हिमाल कुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।
सत्तारुढ दलको गठबन्धनका कारण एमालेका सचिव गोकर्ण विष्टलाई पनि धक्का लागेको छ । विष्टको गृहपालिका इस्मा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार भगतसिंह खड्का अध्यक्षमा निर्वाचित भएका छन् । खड्काले ५ हजार ५८९ मत ल्याएर एमालेका हिरा बहादुर अर्याललाई पराजित गरे । अर्याल ५ हजार ४६४ मतमा सीमित भए ।
सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको गृह पालिकामा मदाने गाउँपालिकामा गठबन्धनले जित हासिल गरेको छ । मदानेको अध्यक्षमा नेपाली काँग्रेसबाट चुनाव लडेका महेन्द्र बहादुर कुँवर निर्वाचित भए । २०७४ मा भएको स्थानीय तह निर्वाचतमा मदाने गाउँपालिका नेकपा एमालेले जितेको थियो ।