अनिता साह : महिला हिंसाविरुद्धको अभियानपछि मेयरमा दाबी
महिला हिंसा विरोधी अभियानबाट राजनीतिमा आएकी अनिता साहले डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छन् ।
२०६४ सालयता गैर–सरकारी संस्था महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सञ्जाल लगायतमा काम गरेकी उनी शिक्षामा स्नातक हुन् ।
अनिता साहको राजनीतिक जीवन भने जनमत पार्टी गठनसँगै सुरु भएको हो । जनकपुरधाममा भएको जनमत पार्टीको प्रथम महाधिवेशनले उनलाई केन्द्रीय सचिवमा निर्वाचित गरेको थियो ।
‘पार्टीले मेयरको टिकट दिएपछि चुनावी मैदानमा आएकी छु,’ उनी भन्छिन्, ‘जनमत पार्टी र मेरो पक्षमा जनलहर पनि बढेको छ ।’
जनकपुरमा बसेर महिला हकहितमा काम गरेको र आफू संलग्न पार्टी पनि लोकप्रिय हुँदै गएकाले जित्नेमा विश्वस्त रहेको उनले बताइन् ।