वीरेन्द्रनगर : कांग्रेसलाई माओवादीको साथ, आफ्नैको डर
कर्णाली प्रदेशको प्रमुख सहर वीरेन्द्रनगर नगरपालिकाको नेतृत्व लिन सत्तारूढ गठबन्धन र विपक्षी दल नेकपा एमालेका उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी वीरेन्द्रनगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावी तालमेल गरेका छन् । कांग्रेसले मेयर र माओवादीले उपमेयरमा उम्मेदवारी दिएका छन् ।
मेयर बन्न दुई जना स्वतन्त्रसहित १३ उम्मेदवार चुनावी मैदानमा छन्, जसमध्ये सत्ता गठबन्धनका उपेन्द्र खड्का र नेकपा एमालेकी मोहनमाया ढकालबीच बलियो प्रतिस्पर्धा हुने देखिन्छ ।
अन्य दल तर्फ राप्रपाका मुकुन्दश्याम गिरीको उम्मेदवारीले बढी चर्चा पाएको छ । चुनाव नजिकिएसँगै खड्का, ढकाल र गिरीसहितका उम्मेदवार मतदाता रिझाउने अभियानमा छन् ।