नीति कार्यक्रम चास्नीमा जेरी नडुवाएको जस्तो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम तेलमा तारेको, चास्नीमा नडुबाएको जेरी जस्तो भएको टिप्पणी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग दिँदै उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’ ओलीले भने, ‘६५ पृष्ठमा १४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ ध्यान नदिई वर्णमालाका अक्षरहरूभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगति नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्यहरू छन् ।’