गुठिचौरमा माओवादीको प्रतिवद्धता : डाक्टर, पाइलट र इन्जिनियर पढ्न अनुदान दिने
जिल्लाको गुठिचौर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।
माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान अध्यक्ष हरिबहादुर भण्डारी र उपाध्यक्षका उम्मेदवार राजकन्य बुढासहित उम्मेदवाहरुको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा गुठिचौरको विद्यालय शिक्षा निःशुल्क गर्ने, हरेक माध्यामिक विद्यालयमा एक नर्स राख्ने उल्लेख गरिएको छ ।
माओवादी गुठिचौरका अध्यक्ष लालबहादुर रावतले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा गाउँपालिकालाई दुई वर्षमा पूर्ण साक्षर गाउँपालिका बनाइने उल्लेख छ ।
सरकारी सेवामा प्रवेश गर्नका लागि लोकसेवा अध्ययन गर्न जेहेन्दार विद्यार्थीलाई अनुदान दिने, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा डाक्टर, पाइलट र इन्जिनियरमा छात्रबृत्ति दिने, गुठिचौरमा १५ शैय्याको अस्पताल निर्माण गर्ने, गुठिचौर बहुउद्देश्यीय परियोजनालाई मुर्तता दिन पहल गर्ने प्रतिबद्धता माओवादीले गरेको छ ।