आयातमा ४२ प्रतिशतसम्म भन्सार महसुल लगाउन निजी क्षेत्रको प्रस्ताव
बढ्दो आयात कम गर्न नेपालमा उत्पादन हुने कृषि उत्पादनको आयातमा ४२ प्रतिशतसम्म भन्सार महसुल लगाउन निजी क्षेत्रले सरकार समक्ष प्रस्ताव गरेको छ ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी यस्तो सुझाव प्रस्ताव गरिएको हो । महासंघले गरेको अध्ययन अनुसार नेपालमा एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको आयात भइरहेका सामानको संख्या २ सय भन्दा बढी छ । त्यसमध्ये अधिकांश वस्तु नेपालमा उत्पादन गरी आयात न्यूनिकरण वा प्रतिस्थापन गर्न सकिन्छ ।महासंघले नेपालमा विदेशी लगानी भित्र्याउन कोभिड पछिको विशेष प्याकेज ल्याउन समेत सरकारलाई भनेको छ । यसक्रममा दर्ता, लगानी, रकम फिर्ता लाने व्यवस्था र करमा छुटको प्रावधान ल्याएर लगानी आकर्षित गर्न सकिने सुझाव दिएको छ । दातृ निकायबाट सहायता रकम घटिरहेको भन्दै निजी क्षेत्र समेतको सहभागितामा आर्थिक कूटनीति र अन्य सम्बन्ध विस्तार गर्न महासंघले भनेको छ ।