जनकपुरधाम : दलकाभन्दा स्वतन्त्र उम्मेदवार उत्साहित
२०७४ को चुनावमा लालकिशोर साहले २१ हजार ९०३ मतका साथ जनकपुर उपमहानगरपालिकाको मेयर जित्दा नेपाली कांग्रेसका मनोज साहले झण्डै आधा (११ हजार १६४) मत पाएका थिए ।
यो पटक पनि दुबै प्रतिस्पर्धामा छन् । राजनीतिक परिस्थिति र चुनावी माहौल भने २०७४ भन्दा ठीक उल्टो छ ।
त्यो बेला मधेश आन्दोलनको रापताप बाँकी थियो भने त्यही आन्दोलनको नेतृत्व गरेको मधेशी मोर्चाका ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार थिए लालकिशोर । त्यसैले राजपाका वडाध्यक्षका उम्मेदवारहरुको कूल मत (१३ हजार ११) भन्दा ८ हजारभन्दा बढी मत पाएका थिए । कांग्रेसबाट मेयरको उम्मेदवार बनेका मनोजले भने पार्टीका वडाध्यक्षका उम्मेदवारहरुको कूल मत (१२ हजार ५५७) भन्दा पनि कम मत पाएका थिए ।