मेयरबारे अहिल्यै निष्कर्षमा नपुगौं, सुनिता डंगोल भन्छिन्- हामी राम्रोसँग कमब्याक गर्छौं भन्ने लाग्छ
काठमाडौं महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धा जति रोमाञ्चक छ, उपमेयरको प्रतिस्पर्धा त्यति छैन।उपमयेरमा नेकपा एमालेकी सुनिता डंगोल आफ्ना विपक्षीभन्दा तीन गुणा बढी मतले अघि छिन्। पछिल्लो मत परिणामअनुसार सुनिताको ९४२१ मत छ। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको २६६४ मत छ।सुरूआती चरणमै धेरै मतान्तर भएपछि उपमयेरमा डंगोलले सजिलै बाजी मार्ने बाहिर अड्कल हुन थालेको छ।
डंगोलले आफूले पाएको मत काठमाडौंवासीको माया र विश्वास रहेको प्रतिक्रिया दिएकी छन्। उनले सेतापाटीसँगको कुराकानीमा भनिन्, 'जति धेरै मत बढिरहेको छ त्यति नै जिम्मेवारी महसुस भइरहेको छ। यो मत काठमाडौंवासीले ममा देखाउनुभएको माया र विश्वास हो।'
मिस नेवा-२०११ की विजेतासमेत रहेकी डंगोलले सुरूमा यसपालि काठमाडौंको मेयरमै उठ्ने चाहना राखेकी थिइन्। त्यसका लागि उनी सकेसम्म कुनै दलसम्म मिलेर जाने नभए स्वतन्त्र नै उठ्ने सोचमा थिइन्। तर अन्तिम समयमा एमालेले उपमेयरको प्रस्ताव गरेपछि डंगोल त्यसका लागि राजी भइन्।
उपमेयरमा डंगोलले उल्लेखित मत पाइरहँदा एमालेबाटै मेयर उम्मेदवार केशव स्थापितले भने उनको जसरी मत पाइरहेका छैनन्। डंगोलले झन्डै १० हजार मत पाउँदा स्थापितको ५८४१ मत छ। उनलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पाँच हजार बढी मतले पछि पारेका छन्।
बालेनले सुरूदेखि जसरी अग्रता लिइरहेका छन्, बाहिर मानिसहरूमा उनले नै मेयर जित्ने कुराकानी हुन थालेको छ। डंगोल भने मेयरको नतिजा अहिले नै अनुमान गर्न नसकिने बताउँछिन्।