तुलसीपुर उपमहानगर : गठबन्धनलाई अन्तरघातको डर, एमालेलाई साख जोगाउने चुनौती
दाङको दोस्रो ठूलो उपमहानगर तुलसीपुरमा चुनावी सरगर्मीसँगै जीत कसको पोल्टामा पर्ला भन्ने चासो बढेको छ । तुलसीपुर कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक गिरीको निर्वाचन क्षेत्र र एमालेका महासचिव शंकर पोख्रेलको घरबास भएको क्षेत्र भएकाले पनि तुलसीपुर उपमहानगरको निर्वाचनलाई दुवैको प्रतिष्ठा र राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ ।
तुलसीपुर उपमहानगरमा १ लाख ७ हजार ६७७ मतदाता छन् । तुलसीपुरमा पाँच दलीय गठबन्धन एकातिर छन् भने अर्काेतिर एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । सत्ता गठबन्धन रहेको तुलसीपुरमा कांग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट जोगबहादुर राना उम्मेदवार छन् । गिरी पूर्वसांसद र पार्टीका केन्द्रीय सदस्य हुन् । उनी अघिल्लो चुनावमा मेयरमा उठेर एमालेका घनश्याम पाण्डेसँग पराजित भएका थिए । उनी पुनः मेयरमा प्रतिस्पर्धा गर्दै छन् ।