खेलाडी-प्रशिक्षक विवाद समाधान गर्न एन्फाले बनायो तीन सदस्यीय कार्यदल
राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ एन्फाले तीन सातापछि कार्यदल गठन गरेको छ ।
आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय रहने गरी समस्या, पहिचान र सुझाव कार्यदल गठन भएको अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।
नेपाली सेनाका पूर्व रथी भिक्टर राणाको संयोजकत्वमा रहेको कार्यदलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व राष्ट्रिय फुटबलर विदूर विष्ट सदस्य छन् ।
करिब दुई साताअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि सुरु भएको विवाद समाधान हुन सकेको थिएन । खेलाडीहरुले नै घटनाबारे छानविन गर्न माग गर्दै आएका थिए ।