केशव स्थापित : घरदैलो भन्दा गुठियार भेटघाटमा जोड
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बालाजु क्षेत्रमा शुक्रबार विहान बिहान ७ बजे घरदैलो गर्ने कार्यक्रम तय गरिएको थियो ।
बिहानभर पानी परेकाले करिब सवा ८ बजेमात्रै घरदैलो सुरु भयो । काठमाडौं महानगरपालिका–१६ मा पर्ने बालाजु बाइपास क्षेत्रमा मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार सुनीता डंगोलसहितको टोली साघुँरा गल्ली छिचोल्दै घरदैलोमा अगाडि बढ्यो ।टीका र खादा लगाएका उम्मेदवार स्थापित र डंगोल हात जोड्दै अघि बढे । उनीहरुले मतदातासँग संवाद गरेनन्, एकोहोरो हिँडिरहे । टोलीमा रहेका केही कार्यकर्ताले नमुना मतपत्र र पर्चा बाँडे । अर्को कार्यक्रममा जान हतारिएका स्थापित र डंगोल आधा घण्टापछि घरदैलो टोलीसँग छुट्टिए । त्यसपछि वडाअध्यक्ष र वडासदस्यका उम्मेदवार र स्थानीय कार्यकर्तामात्र घरदैलो कार्यक्रममा रहे ।