भरतपुरमा देउवाले फकाए, प्रचण्डले तर्साए
नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले दिएको स्वतन्त्र उम्मेदवारीका कारण दबावमा परेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बिहीबार भरतपुरमा चुनावी सभा गरेका छन् ।
केन्द्रीय बस टर्मिनलमा भएको सभामा सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुले पार्टीका असन्तुष्ट कार्यकर्ता तथा समर्थकलाई फकाउने प्रयास गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेस र माओवादीको गठबन्धन अस्वीकृत भए देश दुर्घटना पर्ने त्रास देखाएका छन् ।
अहिले पनि कांग्रेस नेताहरुले पौडेलसँगै उनका समर्थक र प्रस्तावकलाई मनाउन कोसिस जारी राखेका छन् । चुनावी सभालाई भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जगन्नाथ पौडेल लगायतका नेताहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।