निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा पूरा गराउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।
उनले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा देखाएको उत्साहपूर्ण परिचालनको प्रशंसा गर्दै निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको बन्दोवस्ती एवं राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरीतस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा परिचालितभई सम्पादन गरेका कार्यहरुको सुक्ष्म रुपमा अनुगमन गर्ने गरी प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको बताए ।
महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनको लागी उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै विभिन्न निकायहरुसँग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानवअधिकारको सम्मान गर्दै जिम्मेवारी निर्वाहमा क्रियाशिल रहन पनि निर्देशन दिए । अर्यालले लैगिंक हिंसा र गैह्र व्यवसायिक कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारबाही गरिने समेत बताए ।
उनले निर्वाचन क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलार्इ निर्वाचन सुरक्षा, आचारणसंहिता र पदीय आचरणमा रही अनुशासन, इमान्दारिता र लगनशिल भइ कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए । सुरक्षा क्षेत्रमा परिचालन हुँदा सशस्त्र प्रहरी कर्मचारीहरुले आफूले गरेका गतिविधिहरुलाई सामाजिक सञ्जालमा सेयर तथा पोष्ट गर्न नहुने पनि उनले बताए ।