डडेलधुराका पालिका प्रमुखमा एकजना र उपप्रमुखमा १८ जना महिला उम्मेदवार
डडेलधुराका सात पालिकामध्ये एक पालिकामा मात्रै प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छ । दुई नगरपालिका र पाँच गाउँपालिका गरी जम्मा सात वटा स्थानीय तह रहेको डडेलधुरामा अमरगढी नगरपालिकामा मात्रै प्रमुख पदमा महिलाको उम्मेदवारी परेको हो । पालिका उपप्रमुखमा भने १८ जना महिलाको उम्मेदवारी परेको छ ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा आइतबार र सोमबार राजनीतिक दलहरुका उम्मेदवारहरुले गरेको मनोनयन दर्तामा प्रायः पालिकामा पुरुषहरुको उम्मेदवारी परेको छ ।
डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीबाट नगरप्रमुखमा संगिता भण्डारीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको मुख्य कार्यालयले जनाएको छ । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर उप्रमुखमा निर्वाचित भएकी थिइन् । नेकपा फुटेपछि उनी एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् ।
अमरगढी नगरपालिकाको उपप्रमुखमा भने २ जना महिलाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट पार्वती झुकाल र नेकपा माओवादी केन्द्रबाट शशी अवस्थीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।