‘स्वास्थ्य बीमा छ भन्नु मात्रै हो, हैरानी छ’
हाम्रो परिवार करिब ६ महिना अगाडि स्वास्थ्य बीमामा जोडिएको थियो । गाउँमा बीमा गराउने मानिस आउँदा दाइले पाँच जनाको स्वास्थ्य बीमा गर्नुभएको रहेछ । बीमा गरिदिने मानिसले एक वर्षमा ३५०० रुपैयाँ तिर्दा १ लाखसम्मको सेवा पाइन्छ भन्नुभएको थियो । हामी जस्ता निम्न आयस्रोत भएका मानिसलाई यो कार्यक्रम राम्रै होला जस्तो लाग्यो ।
हामी प्रायःजसो अस्पताल आइराख्नुपर्छ । म पनि नसा सम्बन्धी समस्याले वर्षौंदेखि उपचारका लागि अस्पताल धाइरहेकी छु । अलि अगाडिदेखि छरछिमेकीले बीमाको बारेमा कुरा गर्नुहुन्थ्यो । कोही मानिस १ लाखसम्म सेवा पाइन्छ, यो धेरै राम्रो छ भनेर भन्नुहुन्थ्यो । कसै–कसैले चाहिं भन्न मात्रै हो, समयमा सेवा नपाइने, औषधि नपाइने, जाँच गर्न नपाइने जस्ता समस्या भएको सुनाउनुहुन्थ्यो ।पहिला पहिला अस्पताल आउँदा आफूसँग भएको पैसाले नपुग्ला कि भन्ने पीर हुन्थ्यो । बीमा कार्ड बोकेर गएपछि त ढुक्कले उपचार गराउन पाइएला भन्ने आशामा हामी थियौं । केही दिन अगाडि मैले त्रिशूली अस्पतालका चिकित्सकलाई मेरो समस्या देखाएँ । उहाँले थप उपचारको लागि पाटन अस्पताल जान भन्नुभयो ।