नेपाल र चीनले संयुक्त रूपमा सीमा अनुगमन गर्ने
नेपाल र चीनले संयुक्त रूपमा सीमा अनुगमन गर्ने भएका छन्।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीसँगको दुई पक्षीय वार्ताका क्रममा संयुक्त रूपमा सीमा अनुगमन गर्ने सहमति भएको हो।
आपसी सर-सल्लाहका आधारमा सीमाको संयुक्त अनुगमन गर्न दुबै देश सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
केही समयअघिदेखि हुम्लाको नाम्खा गाउँपालिका-६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको विषय बाहिर आएको थियो।
पछिल्लो समय गत भदौमा सरकारले उक्त ठाउँको सीमाको अध्ययन गर्न समिति बनाएको थियो।
गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको उक्त समितिले स्थलगत अध्ययन गरी आफ्नो प्रतिवेदन गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ।
नेपाल र चीनबीच सन् १९६१ मा सीमा सन्धी भएको हो। सन्धीको लगत्तै सीमाकंन भएको थियो। सीमांकन १९६२ मा सकिएको थियो।