मकवानपुर र चितवनका उद्योगमा १४ घन्टासम्म बिजुली काटिन्छ
नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरहरूमा विद्युत् कटौती गर्न थालेपछि उद्योग सञ्चालनमा समस्या भएको सञ्चालकहरूले बताएका छन्।
प्राधिकरणले मकवानपुर र चितवनका औद्योगिक फिडरमा केही दिनदेखि नियमित रूपमा विद्युत् कटौती गरिराखेको छ। चितवन र हेटौंडाका उद्योगहरूमा सोमबार अपरान्ह ४ बजेबाट मंगलबार बिहान सवा ६ बजेसम्म(१४ घन्टा बढी) विद्युत् काटिएको थियो।
उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत प्याकुरेलका अनुसार यसअघि शनिबार साँझ ७ बजेदेखि बिहान ३ बजेसम्म र आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म विद्युत् काटिएको थियो। त्यसअघि पनि हरेक दिन एक/दुई घन्टा काट्ने गरिएको थियो।